आजदेखि मौसममा सुधार हुँदै जाने
Sunday, June 7th, 2020, 11:59 am
विराटनगर, २५ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मौसम सुधार हुँदै जाने भएको छ । केही दिनयतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजबाट क्रमशः सुधार हुँदै जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए ।
न्यून चापीय प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरु भएकाले मौसममा सुधार हुने उनको भनाइ छ । हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली भई प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।