लकडाउन खुकुलो पार्न सीसीएमसी र उच्चस्तरीय समितिको प्रस्ताव मर्ज हुँदै
Sunday, June 7th, 2020, 11:33 am
काठमाडौं, २५ जेठ । सरकारले जेठ ३२ सम्म लकडाउन जारी राखेको छ । तर पनि सडकमा हेर्ने हो भने सवारी साधन बाक्लो रुपमा गुडिरहेको देखिन्छ । यसैविच उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ (नोबल कोरोना भाइरस, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर आजै मन्त्रिपरिषदमा पठाउँदैछ । लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने उच्च स्रोतले जनाएको छ ।
जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो ।
यसवीचमा जेठ २२ गते पनि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेको थिएन ।