लघुकथाः २१औं शताब्दी
Saturday, June 6th, 2020, 10:37 am
ऋषि तिवारी लखन्तरे
उनि ज्योतिषी बा । धर्म कर्ममा बढी बिश्वास । गाउँघरकै विशिष्ट । उनको धर्म भनेको नै मानव जातको कल्याण गर्ने । उनि अधिक समय चिना टिपोटमा ध्यान केन्द्रित गर्थे । समय आफ्नो पक्षमा हुँदा साइकल लिएर छर छिमेकी तथा सहरी क्षेत्र सम्म पुग्थे । समयले पर्खाल नाघ्न थाल्यो । उनि बुढा हुँदै गए । घरमै चिना टिपोट बनाउँन थाले ।
मेरो चिना पनि केरमेट थियो । थोत्रो भैसकेको थियो । नयां चिना बनाउँनु पर्यो भन्दै पत्नीसंग सल्लाह गर्दै गाउँ जाने हैं भन्न थाले । उनि पनि हुन्छ जाउँला भन्न थालिन् । बाइकमा गाउँघरतिर हुइक्किइदै लाग्यौं दुवै दम्पती ।
गाउँ हो । सुन्दर वातावरणको गाउँ । लोभ लाग्दो भैसकेको थियो मेरो गाउँ । नहर कुलोमा सललल बगेको पानी । वरिपरि वर पिपलको चौतारी । खेतमा हरियाली फाँटहरु । कतै उखु बारी त, कतै पटुवा बाली । कतै धानका बीऊकाहरियाली सिरिरर हावाले हल्लाएको । आहा कति राम्रो । पत्नी पनि मुग्ध भएकी थिइन् । रमणिय दृश्य हेर्दै जाँदा उनै ज्योतिषी बाको आँगनमा टक्क अडियौं । उनि बुढा भैसकेका थिए । मलाई चिनें चिनेन । त्यो म भन्न सक्तिन । तर दमाई काका, दले कामी दाई, सार्की काका थुप्री भाउज्यु, राई कान्छा दाई सबैले चिनिसकेका थिए । यिनी भाष्कर बाबु हुन् । म मनमनै खुशी थिए ।
यो २१औं शताब्दीमा पनि ज्योतिषी आचार्य बाको आँगनमा कुनै दलित रहेनछन् । सबै मान्छे जातका रहेछन् । कोही आइमाइ जातका थिए, कोही पुरुष जातका । सबै आ-आफ्नो भुक्त भोगीको भविष्य चिना टिप्पणी हेराउन आँगनमा पालो पर्खि बसेका थिए । म पनि वहाँहरुको विचमै पसें । किन न पस्नु रु यो एउटा २१औं शताब्दीको युगान्तर हो । मान्छे जात भित्र म एउटा मान्छे जात मिसिन पुगेको थिएँ । आफ्नो चिना टिपोटको भविष्य हेर्ने पालो कुरिरहेको थिएँ ।
विराटनगर-६, ममता-मार्ग ।