विदेशबाट नेपाली ल्याउन सुरु, म्यान्मारबाट २६ जना आइपुगे
Friday, June 5th, 2020, 2:30 pm
काठमाडौँ, २३ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ ।
सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।
सोही प्रक्रियाअन्तर्गत म्यान्माबाट २६ नेपाली बिहान ११ बजे काठमाडौँ आइपुगेका छन् । यस्तै दोस्रो चरणमा संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याइँदैछ ।
त्यहाँबाट आउने १६८ नेपाली तयारी अवस्थामा रहेका छन् । प्रक्रिया पूरा भए आज अपराह्न ल्याउने कार्यक्रम छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो ।
आज म्यान्मा सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।
उक्त विमानबाट ४३ जना म्यान्मार जाँदैछन् । त्यसमा दुई नेपालीसमेत छन् । उनीहरुलाई काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसमा राखिने छ ।
विदेशबाट उद्धार गरेर ल्याइएका नागरिकलाई उपत्यकामा तयार पारिएको जगेडासहित नौ ‘होल्डिङ सेन्टर’ मा राखिने छ । उनीहरुलाई विमानस्थलबाट सोझै होल्डिङ सेन्टर पु¥याइने छ । त्यसको व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।
विदेशमा स्वास्थ्य परीक्षण गराएर नेगेटिभ भएकाहरुलाई यसरी ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाली सेनाको सहयोगमा काठमाडौँमा पनि आवश्यक स्वास्थ्य परीक्षण गर्नेछ ।
विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ ।
काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ भक्तपुरमा एक–एक हजार क्षमताको बनाइएको छ भने ललितपुरमा ९०० क्षमताको छ ।