कर्णाली प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो
Friday, June 5th, 2020, 11:12 am
सुर्खेत, जेठ २३ । कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । बिहीबार बिहान होम क्वारेन्टाइनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युसँगै कर्णाली प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनको संख्या दुई पुगेको हो ।
यसअघि शनिबार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टाइनमै मृत्यु भएको थियो । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पञ्चपुरी नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार यही जेठ ९ गते भारतको मुम्बइबाट आएका उनलाई अन्य ५४ जनासँगै विद्यापुरस्थित जनता मावि क्वारेन्टिनमा राखिएको थियो ।
बुधबार साढे चार बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो । सोही राति साढे १२ बजे घर पुगेका ती युवा नजिकैको मौरीपालन स्रोत केन्द्रको भवनमा बसेका थिए ।
वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए ।