नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
Friday, June 5th, 2020, 9:51 am
काठमाडौं, जेठ २३ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ मा मृत्यु भएका २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका १९ वर्षीय युवकको बिहीबार बिहान मृत्यु भएको हो ।
उनी ९ जेठमा भारतको मुम्बइबाट आएको थिए । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।
इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो ।
ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिनका रुपमा बसालिएको थियो । क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएलगत्तै विहीबार बिहान उनको मृत्यु भएको थियो ।
सुर्खेत प्रादेशिक अस्पतालमा मृत्युपछि गरिएको थ्रोट स्वाब परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरबहादुर खड्काले जानकारी दिए ।