भोलीदेखि विदेशमा रहेका नेपालीको उद्धार सुरु हुने
Thursday, June 4th, 2020, 8:33 pm
काठमाडौं, जेठ २२ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा भोलिबाट उद्धार सुरु गर्दैछ ।
भोलीदेखि संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट ३०० को हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ ।
यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगत रूपले कम्तीमा एउटा होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ ।
कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ ।
गण्डकी प्रदेशका लागि वसुन्धारामा रहको स्काई जोन पार्टी प्यालेस छानिएको छ ।
यस्तै, भक्तपुरमा रहेको पार्टी प्यालेसमा भने प्रदेश नम्बर–१ र २ का लाई राखिनेछ ।
यता, प्रदेश नम्बर–५ का लागि कुण्डलिनी दरबार ब्यांकेटलाई होल्डिङ एरिया तोकिएको छ ।
प्रदेश नम्बर–६ का लागि ललिपुरको महालक्ष्मीस्थानमा रहेको मण्डला हाउस पार्टी प्यालेसलाई छानिएको छ ।
प्रदेश नम्बर–७ का लागि भने सिद्धार्थ पार्टी प्यालेस तय भएको छ ।
वैकल्पिकस्थलको रुपमा काठमाडौंको मिराकल पार्टी प्यालेस र ललितपुरको डिलाइट पार्टी भेन्यु छानिएको छ ।
काठमाडौं जिल्ला प्रशासन र उच्चस्तरीय समन्वय समिति तथा नेपाली सेनाको रोहबरमा विदेशबाट उद्धार गरिएकाहरुलाई राख्न पार्टी प्यालेसलाई होल्डिङ क्षेत्रका रुपमा प्रयोग गर्ने तय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
सबै होल्डिङ एरियामा नेपाली सेनाको स्वास्थ्य टोली खटिनेछ ।
सरकारले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थाका नेपाली नागरिकलाई चरणबद्धरुपमा उद्धार गर्दैछ । उद्धार गरिएकाहरुले लाग्ने सम्पूर्ण खर्च आफैं व्यहोर्नुपर्नेछ ।