धरानमा आगलागी हुँदा आमा–छोरीको मृत्यु
Thursday, June 4th, 2020, 11:46 am
धरान, जेठ २२ । सुनसरीको धरानमा आगलागीमा परेर आमा–छोरीको मृत्यु भएको छ । बिहीबार बिहान धरान उपमहानगरपालिका–१५ साम्पाङ टोलमा भएको आगलागीमा परेर ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीया सीता श्रेष्ठको मृत्यु भएको हो ।
आज बिहान ८ः१५ बजे धरानको स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा आमा–छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
आगलागीमा परी नरबहादुर श्रेष्ठकी आमा र बहिनीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगालागीको कारण खुल्न नसके पनि स्थानीयका अनुसार ग्याँस लिक भएर आगलागी भएको भन्ने अनुमान गरिएको छ ।
धरान इटहरीका तीनवटा दमकलको सहयोगमा बिहान करिब एक घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको छ ।