बिजुलीबत्ती बलेपछि ताप्लेजुङका किलिङबासीमा छायो खुशीयाली
Tuesday, November 16th, 2021, 1:27 pm
काठमाडौं । ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङ गाउमा मिक्वाखोला गाउँपालिका-५ पापुङको लघु जलविद्युत आयोजनामार्फत् बिजुली बलेसँगै स्थानीय हर्षित हुँदै नाचगान गरेर खुशीयाली मनाएका छन् । ताप्लेजुङको निक्कै नै दुर्गम तथा विकट गाउँ किलिङमा स्थानीयको सक्रियतामा स्थानीय घट्टेखोलाबाट १५ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि स्थानीयहरुमा खुसीयाली छाएको हो ।
पापुङका वडाध्यक्ष डण्डु लामाका अनुसार ७५ घरधुरी रहेको साविक पापुङ वडा नं. ८ र ९ किलिङ बस्तीका प्रत्येक घरमा अहिले बिजुली बत्ती बलेको छ । हिमाली क्षेत्र साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा (सोलार बत्ती) प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका किलिङबासी बिजुली बत्ती बाल्न पाएपछि हर्षित भएका छन् ।
तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाको उपस्थितिमा उद्घाटन गरिएको आयोजनामार्फत विजुली बत्ती बाल्न पाएपछि स्थानीयवासीले नाचगान गरेर खुशीयाली नै मनाएको वडाध्यक्ष लामाले बताउनुभयो ।
यता, आयोजना निर्माण भएपछि घरमा उज्यालो बत्तीको सुविधासँगै त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ । त्यस्तै, विगतदेखि नै कुटानी पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङबासीको सपना पनि पूरा हुने भएको वडाध्यक्ष लामाले बताउनुभयो ।
उहाँका अनुसार मिल स्थापना गरेर त्यहाँ उत्पादन हुने उवा र जौको पीठो बनाएर उपभोग साथै व्यापार गर्ने योजनामा स्थानीय रहेका छन् । लेक क्षेत्रमा उत्पादन हुने खाद्यान्न बाली उवा र जौको पीठोको माग निक्कै हुने गरेका छ ।
उक्त घट्टेखोला लघु जलविद्युत आयोजनाका लागि ९६ लाख रुपैयाँ र स्थानीयको श्रमदानसमेत लगानी भएको छ । लागतको कुल रकमध्ये वडा कार्यालयको अनुदान ४९ लाख रुपैयाँ , नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) इलामको २२ लाख रुपैयाँ , मध्यमेवा हाइड्रोपावरको सामाजिक उत्तरदायित्व विकास कोषबाट १५ लाख रुपैयाँ छ । वडाध्यक्ष लामाका अनुसार गत फागुनबाट आयोजना निर्माणको कार्य शुरु गरिएको थियो ।