नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या नौं पुग्यो
Wednesday, June 3rd, 2020, 4:56 pm
काठमाडौं, जेठ २१ । नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको हो।
आज थपिएका २०१ सहित नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।
प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ।
नेपालमा हालसम्म संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्। आज १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७८ पुगेको हो। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये ९ जनाको मृत्यु भएको छ।