अमेरिकामा हिंसात्मक प्रदर्शन चर्कियो
Tuesday, June 2nd, 2020, 11:31 am
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभरि विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौँ सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्।
प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको मृत्युलाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन्।
उनले भने,दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो प्रयास गर्छु।
पत्रकारसँग बोलेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मी लिएर पैदल गएका थिए। उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो।
ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो।
ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन्।
ट्रम्पले दशकौँमा भएको खराब र अशान्त अवस्थामा गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताएका हुन्।
यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गरेका छन्।
फ्लोइडको मृत्युका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन्।
स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन्।
फ्लोइडको मृत्युका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन्
फ्लोइडको हत्या अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।
फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन्।
उक्त परीक्षणमा देखिएको कुरा प्रारम्भिक रूपमा देशका स्वास्थ्य परीक्षकले पत्ता लगाएका कारणभन्दा फरक देखिएको छ।
पहिला गरिएको परीक्षणमा अक्सिजनको कमी वा घाँटी दबाएका कारणू भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो।
सरकारी ती अधिकारीले फ्लोइडको हत्या हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य अवस्था कारण रहेको पनि बताएका थिए।
तर फ्लोइडको परिवारले राखेका दुई चिकित्सकले भने मृत्यु नभइ हत्या भएको पत्ता लागेको कानुनी टोलीले विज्ञप्तिमा जनाएको छ।
-बीबीसीबाट