संसदबाट एमसिसी सम्झौतापत्र पारित नभएसम्म उक्त शीर्षकको बजेट खर्च हुँदैन: अर्थमन्त्री
Monday, June 1st, 2020, 3:10 pm
जेठ १९, काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट नगरी नहुने कामलाई पहिलो प्राथमिकतामा राखेर ल्याएको स्पष्ट पारेका छन् ।
अर्थमन्त्री खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने स्पष्टीकरण दिएका छन् ।
बजेटबारे संसदमा जारी छलफलमा उठेका जिज्ञासामाथि जवाफ दिँदै सोमबार उनले भने, ‘समय अनिश्चित भए पनि समय चलिरहन्छ । यसर्थ हामी यो समय खेर फाल्न चाहन्नौं ।’
सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो ।
उनले एमसिसीको नाममा छुट्याइएको बजेट संसदबाट पारित नभएसम्म खर्च नहुने स्पष्ट पारेका छन् । ‘एमसिसीको सहयोगमा हामीले ३ वर्षदेखि नै निरन्तर काम गर्दै आइरहेका छौं । आगामी वर्षका लागि पनि राखेका छौं । संसदमा विचाराधीन रहेको सम्झौतापत्र पारित नभएसम्म बजेट खर्च हुँदैन,’ उनले भने ।