कालापानीबाट भारतीय सेना फिर्ता गराउन संघलाई प्रदेश सरकारको आग्रह
Sunday, May 31st, 2020, 7:15 pm
जेठ १८ । (रासस)सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण गरिएको सडक बन्द गराउन र त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति गराउनका लागि आवश्यक पहल गर्न सङ्घीय सरकारलाई आग्रह गरेको छ।
प्रदेशसभाको आजको बैठकको विशेष समयमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले लामो समयको अन्तरालपछि नेपालको अखण्ड भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा जारी गर्ने ऐतिहासिक र देशभक्तिपूर्ण कार्यका लागि सङ्घीय सरकारलाई धन्यवाद दिनुभयो ।
उहाँले त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति हुने गरी सीमा प्रहरी र प्रशासन कार्यालयका साथै थप बिओपी कार्यालय स्थापनासहित ब्यास गाउँपालिकावासीलाई विकासको मूलधारमा ल्याउनका लागि तत्काल पहल गर्न आग्रह गर्नुभएको छ।