ग्राहकले घरमै बसेर अनलाइनबाटै विद्युत् मिटर रिडिङ गर्न सक्ने
Sunday, May 31st, 2020, 1:31 pm
ग्राहकले अब घरमै बसेर अनलाइनबाटै बिजुलीको मिटर आफै रिडिङ गर्न सक्ने भएका छन् ।
लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ।
यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओआरजी डट एनपी (https://consumer.nea.org.np) टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहलो पटक रजिष्ट्रेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नु पर्ने छ ।
पहिलोपल्ट लगइन गरिसकेपछि रजिष्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटन (Add Consumer) क्लिक गरी खुल्ने कन्जुमर रजिष्टे«शन फारममा (Consumer Registration Form) दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्ने छ ।
पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन। त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्रि फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्ने छ। मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ। यति गरेपछि खपत भएको विद्युतको महसुल देखाउने। महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने छ। ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत खपतको वास्तविक अंक राख्नु पर्नेछ। यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ।