आज संसदमा पेश गरिँदै संविधान संशोधन विधेयक
Sunday, May 31st, 2020, 8:11 am
काठमाडौं, जेठ १८ । सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गरिने छ ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।
नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गराई संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समितिले संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । राजपाबाहेक संसदमा रहेका सबै दलले संविधान संशोधनमा समर्थन जनाउने निर्णय गरेका छन् ।
मधेश केन्द्रित दल राजपा र समाजवादी पार्टीले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् ।