ट्रम्पद्वारा डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा
Saturday, May 30th, 2020, 3:06 pm
१७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति ट्रम्पले घोषणा गरेका छन् ।
भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै ट्रम्पले आर्थिक सहयोग बन्द गराएका थिए ।
ह्वाइटहाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’
डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।
अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो ।