संयुक्त राष्ट्र संघको चासो : नेपालमा अन्तरजातीय विवाह र मृत्यु प्रकरण
Saturday, May 30th, 2020, 1:11 pm
काठमाडौं । रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले गम्भीर चासो व्यक्त गरेको छ । ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले हिजो जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू पनि उठाएको औंल्याउनुभएको छ ।
जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको र यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुँदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्ने मिशेलले उल्लेख गर्नुभएको छ ।
यसैगरी रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीको बारेमा चिन्ताजनक रिपोर्टहरू पनि आइपुगेको विज्ञप्तीमा उल्लेख छ ।
उनीमाथि कथित उपल्लो जातको युवकले जबरजस्ती करणी गरेको, किशोरीलाई उक्त युवकसँग बलपूर्वक विवाह गराइदिन खोजिएको र सोही घटनाका कारण किशोरीको झुण्डिएर मृत्यु भएको रिपोर्ट उच्चायुक्त कार्यालयमा आएको मिशेलले उल्लेख गर्नुभएको छ ।