ब्रेकफेल भइ ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो
Friday, May 29th, 2020, 11:26 am
ताप्लेजुङ, १६ जेष्ठ । ताप्लेजुङमा ट्रकको ब्रेकफेल भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ कटहरेमा भएको सो दुर्घटनामा परी चालक बाह्रदशी गाउँपालिका–६ का २९ वर्षीय ज्ञानबहादुर तामाङको मृत्यु भएको हो ।
विराटनगरबाट सानिमा हाइड्रो पावरको सामग्री लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ना६ख ८२६२ नम्बरको ट्रक बिहीबार अपरान्ह साँढे ४ बजे उक्त स्थानमा आफैँ ब्रेक फेल भइ दुर्घटना भएको थियो ।
सो दुर्घटनाबाट घाइते भएका ट्रक चालक तामाङलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको थियो । तर, उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङले जनाएको छ ।