अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना
Friday, May 29th, 2020, 10:04 am
जेठ १६,काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मौसमी प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।
आज दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी भैरहवा अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।(रासस)