गणतन्त्र दिवस महान उत्सवको दिन : प्रधानमन्त्री ओली
Thursday, May 28th, 2020, 9:50 am
काठमाडौं , जेठ १५। प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ गणतन्त्र दिवसका अवसरमा आज सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताउनुभएको छ।
सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले सन्देशमा जनता साँचो अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय तथा महान् उत्सवको दिन भएको स्मरण गर्नुभएको छ ।
हाल नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ताको अन्त्य भइ जनताले निर्वाचित गरेका प्रतिनिधिद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित रहेको संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरु प्रतिविम्बित भएको बताउनुभयो ।
उहाँले शुभकामना सन्देशमा ,“गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलब्धिहरु गौरवपूर्ण र दूरगामी महत्वका छन् । तर यिनै उपलब्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन ।” भनि उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो भन्दै यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ र लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेको बताउनुभयो ।
गणतन्त्र शासन प्रणाली मात्रै नभइ नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि भएको र गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली भएको उहाँको भनाई छ ।
त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन नसक्ने प्रधानमन्त्री सन्देशमा उल्लेख छ ।
सन्देशमा गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन नसक्ने पनि स्पष्ट भनिएको छ ।
कोरोना महामारीले आक्रान्त भएका बेला सिङ्गो मुलुक एकताबद्ध भइ जनताको सुख र समृद्धि तथा स्थिरताका लागि केन्द्रित हुन पनि सन्देशमा आव्हान गरिएको छ ।