गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना
Thursday, May 28th, 2020, 9:35 am
जेठ १५, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका संघर्षमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शुभकामना व्यक्त गर्नुभएको हो। गणतन्त्र स्थापनाको लागि आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन आग्रह समेत गर्नूभयो ।
अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणाम स्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख ्गर्नूभएको छ ।
आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
सदाकाल स्वाधीन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै उनीहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले हार्दिक आह्वान गर्नुभएको छ ।
निकै लामो संक्रमणकालपश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेशमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सम्पूर्ण राजनीतिक दलहरु तथा आमजनतामा उहाँले हार्दिक आह्वानसमेत गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नोभेल कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन् । उनले संक्रमित विरामीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
ऐतिहासिक दिवसले सबै नेपालीहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने राष्ट्रपति भण्डारीले शुभेच्छा प्रकट गर्नुभयो ।