वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी : रुकुम घटना
Wednesday, May 27th, 2020, 11:57 am
जेठ १४ । गएको शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो ।
दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारी–८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज परीक्षण गरिने प्रमुख जिल्ला अधिकार पन्तले बताउनुभयो । हराएका तीन जनाको खोजीकार्य भइरहेको जनाइएको छ । खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न छन् ।
भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही, वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ ।रासस