संविधान संशोधन विधेयक आज संसदमा पेश गरिँदै
Wednesday, May 27th, 2020, 11:33 am
काठमाडौं, जेठ १४ । सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गर्न लागिएको हो ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।
नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।
मधेश केन्द्रित दलहरुले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि यसै बेला एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् । सरकारले भने यो नितान्त भूगोलको अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको विषय भएकाले अरु विषय मिसाउन नसकिने बताउँदै आएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याउने प्रस्तावलाई समर्थन गर्ने जनाइसकेको छ भने संसदमा रहेका अरु दलले पनि समर्थन गर्ने जनाएका छन् । दलहरुको समर्थन जुटाउनकै लागि प्रधानमन्त्रीले मंगलबार(हिजो) सर्वदलीय बैठक बोलाएका थिए ।