शिल गर्न हतार नगरौँ : स्वास्थ्य मन्त्रालय
Tuesday, May 26th, 2020, 6:16 pm
काठमाडौं, १३ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न आग्रह गरेको छ ।
पछिल्लो समय संक्रमितको पूर्ण विवरण यकिन नहुँदै स्थानीय तह तथा समुदाय सिल गर्ने प्रवृत्ति बढेको भन्दै आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो आग्रह गर्नुभएको हो । यसरी शिल गर्दा अनावश्यक स्थान सिल हुन पुगेको भन्दै स्वास्थ्य मन्त्रालयले हतारमा निर्णय नलिन अनुरोध गरेको छ ।
‘मन्त्रालयले स्थानीय तह र समुदायमा कोरोना संक्रमितको ठेगाना सुन्नेबित्तिकै सिल गर्ने प्रवृत्ति छ, हतारमा यस्तो निर्णय लिन जरुरी छैन । संक्रमितबारे इपिडिमियोलोजी र प्रदेश सरकारबाट जानकारी आएपछि मात्रै यसबारे निर्णय गर्नुहोला ।’
कोरोना परीक्षणका लागि नमुना दिँदा आफ्नो अस्थायी र स्थायी ठेगाना उपलब्ध गराउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । परीक्षण गराउनेको पूर्ण विवरण नहुँदा संक्रमितको अस्थायी र स्थायी ठेगानाबारे अन्योल बढेको भन्दै स्वास्थ्यले पूर्ण विवरण पेस गर्न आग्रह गरेको हो ।