चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत
Tuesday, May 26th, 2020, 3:12 pm
काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन (२०७६ र ७७ ) सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा खुम्चिने अनुमान रहेको गरेको छ ।
यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ० दशमलव ०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशतको लक्ष्य राखेको थियो ।
तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताउनु भएको छ ।
यसअघि गत आर्थिक वर्ष २०७५ र ७६ मा नेपालको ६ दशमलव ७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ र ७५ मा भने ६ दशवलव ३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो ।