संघीय संसदको लोगो फेरियो
Tuesday, May 26th, 2020, 2:40 pm
प्रतिनिधि सभा र राष्ट्रिय सभाको लोगो फेरिएको छ। मंगलबारको बैठकको निर्णय अनुसार संघीय संसदको लोगो फेरिएको हो। संसदको नयाँ लोगोमा अद्यावधिक नेपालको नक्सा समावेश गरिएको छ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको भू–भागलाई समावेश गरी नयाँ नक्सा जारी गर्ने प्रस्ताव गत जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो।
जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक कार्यक्रमकोे आयोजना गर्दै नयाँ नक्सा सार्वजनिक गरेकी थिइन्। नयाँ नक्सामा ३ सय ३५ वर्ग किलोमिटर भू–भाग समावेश गरिएको थियो।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले संघीय संसदको लोगो र सांसदहरूले लगाउने लोगोमा अध्यावधिक नक्सा समावेश गर्ने निर्णय गरेको थियो।