उद्योगीलाई राहत, मजदुरको सामाजिक सुरक्षा सरकारले ब्यहोर्ने
Tuesday, May 26th, 2020, 12:55 pm
काठमाडौं । कोभिड १९ बाट प्रत्यक्ष प्रभावित उद्योगका मजदुरको सामाजिक सुरक्षामा गर्नुपर्ने योगदान सरकारले गर्ने भएको छ । पर्यटन, उत्पादनमुलक उद्योगलगायत क्षेत्रमा काम गर्ने मजदुरको सामाजिक सुरक्षामा राख्नुपर्ने रकम सरकारले राख्ने भएको हो ।
यस अघि पनि चैत महिनामा सामाजिक सुरक्षामा राख्नुपर्ने रकम सरकारले राखेको थियो । बैशाख र जेठको पनि सरकारले राखिदिने भएको हो ।
सामजिक सुरक्षामा रोजगारदाताले २० प्रतिशत र कामदारले ११ प्रतिशत गरेर ३१ प्रतिशत रकम राख्नुपर्छ । त्यो ३१ प्रतिशतको भार सरकारले ब्यहोर्ने भएको हो । यसले व्यवसायीईलाई ठूलो राहत हुने उद्योगीहरु बताउँछन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनमा उक्त कुरा उल्लेख छ । चैत ११ देखि सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, होटललगायत सबै क्षेत्र पूर्ण रुपमा बन्द छन् । त्यहाँ काम गर्ने लाखौ मजदुर सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । ती मजदुरको सामाजिक सुरक्षा कोषमा राख्नुपर्ने रकम अब सरकारले राख्दिने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमा ‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ’ भन्ने उल्लेख छन् । उद्योगीका अनुसार यसले रोजगारदातालाई २० प्रतिशत राहत हुने छ ।