वडाध्यक्षसहित १० जना प्रहरी नियन्त्रणमा: रुकुम पश्चिम
Tuesday, May 26th, 2020, 10:50 am
जेठ १३ । रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल सहित थप ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति वडाअध्यक्ष मल्ल , केटीका बुवा बीरबहादुर, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ल लगायत १० जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्लाका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । घटनामा संलग्न भनिएका सोती गाउँका अरु मानिसहरुको समेत खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले वडाध्यक्ष मल्ल, उनका बाबु बीरबहादुर सहितका मानिसहरुले लखेटी लखेटी आफ्ना सन्तान हत्या गरेको जनाएका छन्। जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक गत शनिवार आफ्ना थप १८ जना साथीहरु सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीलाई भगाउन भनि केटीको गाउँ सोती पुगेका थिए।
त्यही क्रममा सोती गाउँका स्थानीयले उनीहरुलाई लखेट्दै कुटपिटमा उत्रिएपछि उनीहरु ज्यान जोगाउन भाग्दै सानी भेरी नदीमा हाम फालेका थिए। त्यसरी हाम फालेकामध्ये तीन जना मृत फेला परेका छन् भने थप तीन जना अझैं बेपत्ता छन्।
घटनामा संलग्न भनिएका सोती गाउँका अरु मानिसहरुको समेत खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।