जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने: प्रधानमन्त्री
Monday, May 25th, 2020, 10:08 pm
काठमाडौं ,१२ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताउनुभएको छ ।
आज (सोमबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरिने पनि जानकारी गराउनुभयो ।
उहाँले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टाइनका रुपमा विकास गरिने बताउनुभयो ।
महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।