राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने १९ सांसदको कार्यकाल आज सकिँदै
Sunday, March 29th, 2020, 9:27 am
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने १९ सांसदको कार्यकाल आज सकिँदैछ ।
राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि सकिनेछ ।
आज कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना रहेका छन् ।
डा. खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् ।
त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि आजैदेखि सकिँदैछ ।
राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल पनि आजै सकिँदैछ ।
समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि आजै सकिनेछ ।
भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् ।
५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् ।