कोरोनाबाट अमेरिकामा एकको मृत्यु, वासिङ्टनमा आपतकाल घोषणा
Saturday, March 28th, 2020, 7:49 am
काठमार्डौ । अमेरिकाले कोरोनाभाइरसका कारण आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ।
अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसका कारण विविध किसिमको स्वास्थ्य समस्या रहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन्।
वीनको हुबेई प्रान्तको वुहानबाट महामारी सुरू भएयता अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो।
कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन् ।
यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ ।
२९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।
कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।