जन्मदिन मनाउन प्रम ओली जन्मस्थान तेह्रथुम जाँदै
Saturday, March 28th, 2020, 9:37 am
काठमाडौं ।आइतबार आफ्नो ६९ औं जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मस्थान तेह्रथुम-आठराई जाँदैछन्।
उनी हेलिकोप्टरमार्फत् आज अठराई जान लागेका हुन । प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
जन्मदिन मनाउन प्रम ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ।
प्रम ओलीले त्यहाँ एक स्थानीय बाटोको शिलान्यास गर्नुको साथै र नेपाल बैंकको उद्घाटन गर्नेछन्।
आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपा देवी कन्दङवाले प्रम ओलीबाट सुकेपोखरी, पोखरे मावि, प्रणामी मावि हुँदै ढुङ्गे साँघु जाने ९ किलोमिटर लामो बाटोको शिलान्यास र दन्वद्का कारण बन्द भएको नेपाल बैंकको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्।
गाउँपालिकाले फागुन ११ गते आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको आफ्नो सूचनामा उल्लेख गरेको छ।
उसले सूचनामा प्रम ओली उपस्थित हुने कार्यक्रममा कर्मचारी र विद्यालयका शिक्षकहरूलाई तोकिएको पोशाकमा उपस्थित हुन भनेको छ।
ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको थियो भने २०२० सालमा ओली परिवार झापा बसाईं सरेको थियो।