‘मेरो बारेमा प्रश्न उठेकाले राजीनामा दिएँ’- बास्कोटा
Friday, March 27th, 2020, 4:51 pm
काठमाडौं । सेक्युरिटी प्रेस खरिदका विषयमा कमिसनबारे गरिएको अडियो सार्वजनिक भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदमा राजीनामा दिएका छन् ।
मन्त्री बाँस्कोटा र एजेन्ट विजय मिश्रबीच भएको कमिसन काण्डको अडियो रेकर्ड आज बिहान सार्वजनिक भएको थियो । मन्त्री बाँस्कोटा भने कञ्चनपुरमा थिए ।
आज बिहान काठमाडौं पुगेर यो प्रकरणमा विस्तृतमा बताउने जानकारी दिएका थिए । तर उनले दिउँसो ४ बजे आयोजना गरेको पत्रकार सम्मेलनमा समेत उपस्थित नभई फेसबुकमा स्टाटस लेखेर राजीनामा दिएको जानकारी गराए ।
आफ्नो बारेमा प्रश्न उठेको भन्दै नैतिकताको आधामार मन्त्री पदबाट राजीनामा दिएको जानकारी ट्वीटमा लेखेका छन् ।
मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
कमिसन लिन खोजेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब परेको थियो । त्यसैअनुसार ओलीको निर्देशनमा उनले राजीनामा दिए ।