ममाथि लागेको आरोप पुष्टि भए सजाय भोग्न तयार छु: सञ्चारमन्त्री बाँस्कोटा
Friday, March 27th, 2020, 2:53 pm
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोप पुष्टि भए कारवाही भोग्न तयार रहेको बताएका छन् ।
बिहीवार बिहान कञ्चनपुरको पुनर्वासमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले आफूमाथि राजनीतिक रंग दिएर प्रोपागाण्डा गर्न खोजिएको आरोप लगाए ।
‘जसले गल्ती गर्छ, त्यही जान्छ,’ उनले भने, ‘मैले कहाँबाट शुद्धताको प्रमाणपत्र लिनुपर्ने हो, लिन्छु ।’
यसैगरी आजै कञ्चनपुरको बेलडाँडीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्ता आरोप लाग्नु ठूलो कुरा नभएको बताए ।
‘आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ’, उनले भने, ‘सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।’
बुधवार साँझ बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोडको डील गर्दै गरेको अडियो सार्वजनिक भएको थियो ।
अडियो प्रकरणलाई नै लिएर प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न प्रचण्ड बिहान १० बजेपछि बालुवाटार पुगेका थिए ।