पूर्व सभामुख महरालाई सफाइ
Thursday, March 26th, 2020, 3:35 pm
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । महराविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको आज फैसला सुनाएको हो । महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए ।
सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए । महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो ।
महरामाथि संसदकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो । सोही आरोपका कारण महराले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा समेत दिनु परेको थियो ।