सिन्धुपाल्चोकमा भेटिए सयभन्दा बढी कोरोनाको लक्षणसँग मिल्दोजुल्दो बिरामी
Wednesday, March 25th, 2020, 8:39 am
काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो एकैपटक सय जनाभन्दा बढी बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।
जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ : विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’
सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।