गृहमन्त्रीका भाइलाई थुनामा राख्न उच्च अदालत पाटनको आदेश
Tuesday, March 24th, 2020, 9:01 am
काठमाडौं । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ।
उच्च अदालत पाटनले बिहीबार थापालाई थुनामा राख्न आदेश दिएको हो। मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले यसअघि जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै थापालाई थुनामा राख्न आदेश दिएको हो।
अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।
हाल केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए ।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जोहरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।
जिल्लाले नरेशविरुद्ध स्पष्ट प्रमाण अभाव भएको भन्दै धरौटीमा छाड्न र अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो । यद्यपि, उच्चले नरेशलाई मात्र छाड्नुको कारणमाथि टेकेर थुनामा पठाउन आदेश दिएको स्रोतले बतायो ।