उपत्यकाको निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका सिडिओ बैठक बस्दै
Sunday, June 13th, 2021, 12:48 pm
काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैछ । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठकमा बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
बैठक आज दिउँसो दुई बजे बोलाइएको छ । राजधानीमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने अनौपचारिक छलफल भएको प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ ।
उहाँका अनुसार यसपटक विकास निर्माणलाई थप प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने छ । त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ । त्यसैगरी अन्य पसलहरूका लागि पनि समय तोकेर खोल्न दिने तयारी भएको छ ।
यसबाहेक पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोरबिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी छ । यद्यपी निषेधाज्ञाको मोडालिटी कस्तो हुनेबारे निर्णय भइनसकेको र अहिले सरोकारवालासँग छलफलकै क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि (जेठ ३१ गते)राति १२ बजे सकिँदैछ ।