डेनमार्कमाथि फिनल्याण्डको जित
Sunday, June 13th, 2021, 11:01 am
एजेन्सी । फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
कोपनहेगनमा हिजो (शनिबार) राति डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो ।
फिनल्याण्डले जोएल पोहनपालोले खेलको ५९ औं मिनेटमा गरेको गोलबाट खेलमा अग्रता लिएको थियो ।
डेनमार्कले खेलको ७४ औ मिनेटमा पेनाल्टिमार्फत गोल गर्ने मौका पाएपनि पिएरे इमिल गोल गर्न चुक्दा फिनल्याण्ड विजयी भएको हो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डले डेनमार्कमाथि हात पारेको यो जित ऐतिहासिक जित हो ।
जितसँगै समूह ‘बी’ को फिनल्याण्डले पहिलो खेलमा ३ अङक जोडेको छ । डेनमार्कले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यसअघि खेलमा डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन अचेत भएर खेलको ४३ औं मिनेटमा मैदान ढलेपछि खेल स्थगित भएको थियो ।
एरिक्सनलाई मैदानमा नै सीपीआर र अन्य मेडिकल सहायता प्रदान गरिएको थियो ।

चिकित्सकको आकस्मिक उपचारपछि एरिक्सनको होस खुलेको र बोल्न सक्ने भएको डेनिस फुटबल एसोसियनले जनाएको छ ।
अचानक एरिक्सन लडेपछि खेल स्थगित गरिएको थियो । एरिक्सनको स्वास्थ्यमा सुधार आएपछि दुबै टिमसँगको छलफलपछि खेल पुनः सुरु भएको थियो ।
फुटबल मैदानमा भएको सो घटनाले सबैलाई स्तब्ध बनाएको थियो । बेल्जियमका खेलाडी रोमेलु लुकाकुले रुसबिरुद्ध भएको खेलमा आफुँले गरेको गोल एरिक्सनका लागि सर्मपित गरेका थिए ।