महाधिवेशनबारे छलफल गर्न शनिबार देउवाले बोलाउनुभयो पदाधिकारी बैठक
Friday, June 11th, 2021, 4:51 pm
काठमाडौं । शनिबार दिउँसो २ बजे बस्ने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाउनु भएको हो।
१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ। तर क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा सकिएका छैनन्।
१० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य बनिसकेका छन्। सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण भएको छैन।
महामारीका बीच पनि महाधिवेशन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलगायत नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराउँदै आउनु भएको छ । देउवाले पनि भदौमै महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको छ।
देउवाको नियमित कार्यकाल सकेर थप गरेको डेढ वर्ष समय पनि भदौमा सकिँदैछ। पार्टीलाई संकटमा जानबाट बचाउन भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ।