कोरोनाको तेस्रो लहर बालबालिकाको लागि साँच्चिकै खतरा हो ?
Friday, June 11th, 2021, 1:36 pm
काठमाडौं । सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइरसले अहिले सम्म विश्वलाई आक्रान्त पारेको छ । हाल सम्म २५ लाख भन्दा बढिको मृत्यु भैसकेको छ भने १७ करोडभन्दा बढीमा संक्रमण भएको छ ।
नेपालमा पनि करीब ८ हजार जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या झन्डै ६ लाख पुग्न थालेको छ । पहिलो लहर केहि कम भएपनि पुन दोस्रो लहरमा धेरैको मृत्यु भयो भने संक्रमित पनि धेरै भएका छन् । अझैपनि तेस्रो लहर घातक हुने र बालबालिकामा बढि जोखिम हुने बिज्ञहरुको आकलन छ ।
खोप नलगाएका बालबालिका बढी जोखिममा पर्ने आकलन गर्दै स्वास्थ्य मन्त्रालयले समेत बालबालिकाको लागि २० प्रतिशत शैया छुट्याउन आग्रह गरेको छ । कोरोनाको तेस्रो लहरको संभावना कति र बालबालिकालाई जोगाउन के गर्नुपर्छ भन्ने बारेमा बालरोग विशेषज्ञ अमृत घिमिरे सँग गरिएको कुराकानीको संपादित अंश
१) कारोनाको तेस्रो लहरको सम्भावना छ ?
हरेक भाइरसको स्वरुप परिवर्तन गर्ने क्षमता हुन्छ त्यसैले यसको तेस्रो लहर आउने संभावना रहेको छ तर यो कहिले आउछ भन्ने यकिन छैन् । पहिलो लहरमा बुढा बुढिलाई असर गरेको पाइएको थियो भने दोस्रो लहरमा युवा बर्गमा बढि असर गरेको देखिएको छ । अबको तेस्रो लहर आउने संभावना हुदा बालबालिकामा खोप नलगाएकोले गर्दा पनि अब बालबालिकालाई जोखिम बढि हुने होकी भन्ने आकलन गरिएको हो ।
२.तेस्रो लहर बालबालिकाको लागि बढी जोखिम हो?
अहिले सम्म बालबालिकालाई खोप लगाइएको छैन र उनिहरु स्वास्थ मापदण्ड पालना गर्न सक्ने नहँुदा पनि बालबालिकामा असर गर्न सक्छ भन्ने भनिएको हो । अहिले सम्मको इतिहासमा बालबालिकाहरुमा कम संक्रमण गरेको छ भने संक्रमण भैहाले पनि गम्भिर अवस्थामा पुगेको छैनन् । अहिले सम्म अन्य उमेर समुहका ब्यक्तिले खोप लगाइसकेको र घेरै संक्रमित पनि भैसकेको हुदा पक्कै पनि बालबालिकाहरुमा तेस्रो लहरको जोखिम उच्चनै हुने गर्दछ ।
३.बालबालिकाहरुमा कोरोना सँग लड्न सक्ने प्रतिरक्षा प्रणाली धेरै हुने हो ?
अहिले सम्मको इतिहासमा बच्चाहरुलाई संक्रमण कम देखिएको हुँदा बिभिन्न सिद्धान्तहरु दिइएको छ । बच्चाहरुलाई बिभिन्न खोपहरु दिइरहेका हुने हुदाँ रोग सँग लड्ने क्षमता बढि हुन्छ भन्ने गरिएको हो तर यो प्रमाणित भने भैसकेको छैन् । यसको प्रमुख कारण शरीरमा भाइरसको रिसेप्टर्सहरू कम अभिव्यक्त हुनु हो । रिसेप्टर्सहरूबाट नै भाइरस इम्युन सिस्टममा प्रवेश गर्ने गर्छ । अथवा सरल रूपमा भन्दा भाइरसलाई शरीरमा सजिलै प्रवेश गर्न नदिई प्रतिरक्षा प्रणालीलाई आक्रमण गर्नबाट बचाउँछ ।
४. तेस्रो लहर आयो र संक्रमणभैहाल्यो भने हाम्रो तयारी कस्तो हुनुपर्छ ?
मन्त्रालयले अस्पतालहरुलाई २० प्रतिशत शैया छुट्याउन आग्रह गरेको छ त्यो मात्र भएर हुदैन् । अहिलेको जस्तै संक्रमण फैलियो र बच्चामा संक्रमण देखियो भने यो जनशक्तिले भ्याउदैन । ठुलो मान्छेमा गरिने उपचार र बच्चामा गरिने उपचार पुरै फरक हुन्छ । उपकरणहरु पनि फरक हुन्छ, जनशक्तिको ब्यबस्थापनमा जोड दिनुपर्यो बच्चाहरुलाई म्यानेज गर्नसक्ने जनशक्ति छ बा छैन त्यतातिर ध्यान दिनुपर्यो । बच्चाको उपचारमा संलग्न चिकित्सकको संख्या कति छ त्यसको आकडा निकालेर पुर्व तयारी गर्नुपर्यो ।
४.यस्तो अवस्थामा बच्चाको खानपानमा कस्तो ध्यान पुर्याउनु पर्दछ ?
खाना र कोरोना सँग त्यस्तो सम्बन्ध त छैन तर पनि यसले रोगप्रतिरक्षात्मक क्षमता कम भएकालाई असर गर्ने हुँदा पोषिला खानेकुरामा जोड दिनुपर्छ ।
५.कोरोना भैहाल्यो भने के गर्ने ?घरमानै कसरी उपचारको ब्यबस्थापन गर्ने ?
साना बच्चाहरु संक्रमित भएको खण्डमा आफैँ आइसोलेसनमा बस्न नसक्ने हुदाँ यसको ब्यबस्थापनमा पनि ध्यान दिनुपर्दछ । बच्चालाई संक्रमण भैहाल्यो र परिवारका अन्यलाई भएको छैन भने एकजना सँगै बसेर स्वास्थ्य मापदण्ड पालन गरि स्याहार सुसार गर्नुपर्ने हुन्छ । बच्चालाई १० दिनसम्म छुट्टै राख्नुपर्दछ वा ज्वरो कम भएको ३ दिन सम्म छुट्टै राख्नुपर्दछ ।
५.बालबालिकाहलाई मानसिक रुपमा कसरी स्वस्थ्य राख्ने ?
लामो समयदेखि बालबालिकाहरु घरमानै बसिरहेको हुदा उनिहरुलाइृ मानसिक रुपमा केहि असर परेको छ । सबैभन्दा मुख्य भनेको सामाजिक संजालको प्रयोगमा कमि गर्नुनै हो । बच्चाहरुलाई खेलकुदमा सहभागि हुने पुस्तकहरु पढ्ने गर्नुपर्दछ । बच्चाहरुको अगाडि बसेर सामाजिक संजालमा आएका कोरोनाको मृत्यु तथा संक्रमणका नकारात्मक कुराहरु सुनाउनु हुदैन ।