राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त
Friday, June 11th, 2021, 12:40 pm
काठमाडौं । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ । आजको संसद् बैठकमा उहाँ पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाउनुभएको हो । यसअघि पार्टी निर्देशन नमानेको भन्दै गत बिहीबार सांसद पदबाट हटाइएका थापालाई गत आइतबार सर्वोच्च अदालतले पुर्नबहाली गरिदिएको थियो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका बेला भएको मतदानमा हिजो थापा तटस्थ बस्नुभएको थियो ।
पार्टीले मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न भनेपनि उहाँ तटस्थ बसेकाले राष्ट्रिय जनमोर्चाले पदबाट हटाएको हो । सभामुख नेत्रनाथ अधिकारीले आजको प्रदेशसभा बैठकमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम उहाँलाई पदमुक्त भएको जानकारी गराउनुभएको हो ।
पुनर्बहाली गर्ने सर्वोच्चको आदेशमाथि जनमोर्चा, प्रदेशसभा, सभामुखले पुनरावलोकनको माग गरेका थिए । यससम्बन्धी आगामी ३१ गते सुनुवाइ हुँदैछ । यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।