क्रेनले प्रसारण लाइनमा छुँदा सोलुखुम्बुमा दुई जनाको मृत्यु
Friday, June 11th, 2021, 12:33 pm
काठमाडौं । सोलुखुम्बुको पत्तालेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनका चालक स्याङजाका २४ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक परियारका श्रीमती लीला परियार र गुल्मीका वसन्त पौडेल रहनुभएको छ ।
घाइतेमध्ये पौडेलको अवस्था सामान्य छ भने परियारको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिनुभयो ।
डीएसपी कटवालका अनुसार आज बिहान साढे आठ बजेतिर ग १ क ५१ ७३ नम्बरको ट्रकमा लोड गरेर लगिएको क्रेनले हाई टेन्शन लाइनको तारमा छोएको हो । करेन्ट लाग्दा गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ । सोलु हाइड्रोपावर आयोजनाको क्रेन पोखरा मर्मतका लागि लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।