सरकारको आतंक अत्ति भयो, जनता हाम्रो साथमा छन्: अष्टलक्ष्मी शाक्य
Thursday, February 4th, 2021, 1:03 pm
काठमाडौं । नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सरकारले शान्तिपूर्वक भेला हुने, अधिकारका लागि आन्दोलित हुने मौलिक हक पनि हनन् गर्न लागेको बताएकी छन् ।
पक्राउ परेकामध्ये सिनियर नेताहरूलाई प्रहरीले छाड्ने तयारी गरे पनि सबै आन्दोलनकारी मुक्त नभएसम्म वृत्त नछाड्ने उनले बताइन् । उनले अहिले प्रहरी कार्यालयभित्र आन्दोलनकारीबीच परिचयात्मक कार्यक्रम, नाराबाजी भइरहेकोसमेत बताइन् । शाक्यले साँझपछि जनजीवन सहज हुने पनि बताइन् ।
सरकार अताल्लिएको उनको प्रतिक्रिया छ । बिहान बाटामा दुईजना पनि उभिन नदिएको र आन्दोलनकारी भन्दै धरपकड सुरु गरेको उनले बताइन् । “अहिले महाराजगञ्ज वृत्तमा ६८ जना राखिएको छ । दुई–तीनजनालाई प्रहरीले कुटपिट गरेको रहेछ । हामीले उहाँहरूलाई उपचार गराउन भनेका छौँ । हामीमध्ये केहीले खाना खायौँ । बाँकी भोकभोकै छन् । सरकारको आतंकको वर्णन गरिसाध्य छैन,” उनले भनिन् । आमहड्तालका लागि कलंकी जाँदै गर्दा बाटैबाट पक्राउ परेकी शाक्यलाई अहिले महाराजगञ्ज वृत्तमा राखिएको थियो ।