प्रचण्ड–नेपाल समुहको बन्दले यात्रुलाई सास्ती, कोटेश्वरमा जाम (फोटो फिचर)
Thursday, February 4th, 2021, 10:57 am
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले घोषणा गरेको आम हड्तालको काठमाडौंमा सामान्य प्रभाव परेको छ । बिहानैदेखि प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता आम हड्ताललाई सफल बनाउन भन्दै सडकमा ओर्लिएका छन् । यसबीच प्रहरीले बन्द गराउँदै हिँड्ने कैयौं व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौंका मुख्य सडक भने आम हड्तालको कारण प्रभावित बनेका छन् । भित्रि शहरहरुमा जनजीवन सामान्य भएपनि मुख्य सडकमा सवारी आवागमन ठप्प छ । बानेश्वर, माइतीघर, रत्नपार्क क्षेत्रमा प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन् । कोटेश्वरमा सवारी साधनहरु रोकिँदा लामो जाम भएको छ । यात्रुहरु पैदलै हिँडेर गन्तव्यतिर लागिरहेका छन् ।
हाम्रा सम्वाददाता श्याम राना मगरका अनुसार विर हस्पिटल सुन्धारा, असन, त्रिपुरेश्वर थापाथली लगायतका स्थानहरुमा प्रर्दशनकारीहरुको बाक्लो उपस्थिति रहेको छ भने कुनै पनि सवारी साधान चलेका छैनन् । प्रदर्शनकारीहरुले मोटरसाइकल समेत चल्न दिएका छैनन् । यता धोविखोला करिडोरमा भने यातायातका साधनहरु निर्वाध रुपमा चलिरहेका छन् । धोविखोला करिडोरको निलोपुल देखि घट्टेकुलो सम्म यातायातका साधनहरु उल्लेख्यमात्रामा चलिरहेका छन् ।







