आम हडतालले जनजीवन प्रभावित
Thursday, February 4th, 2021, 10:06 am
काठमाडौं । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर नेकपा दाहाल नेपाल समुहले आह्वान गरेको देशव्यापी आम हडतालको कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

विहान सवेरैदेखि राजधानीका गोंगबु, चावहिल, कोटेश्वर, पुतलीसडक, महाराजगञ्ज लगायतका क्षेत्रमा प्रदर्शनकारीहरुले यातायात सञ्चालनमा अवरोध गरेका छन् । हाम्रा सम्वाददाता रोशन केसीका अनुसार समाचार तयार पार्दासम्म चावहिल जोरपाटी खण्डमा केही माईक्रोवसहरु सञ्चालन भएका छन् ।

तर चावहिलचौकदेखि सुकेधारा र गौसालातिर जाने सडकमा वन्दकर्ताहरुले मोटरसाईकल सञ्चालनमा समेत अवरोध गरिरहेकाछन् । त्यस क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिईरहेको भए पनि निर्वाद रुपमा यातायात सञ्चालन गर्न सकिएको छैन । चावहिल क्षेत्रमा प्रदर्शनकारीहरुको नेतृत्व नेकपाका नेताद्वय वर्षमान पुन र ओनसरी घर्तीले गरिरहनु भएको छ ।
उपत्यकामा विहान ९ बजेसम्म करीब २० प्रतिशत सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्न करीब ८० जनालार्ई पक्राउ गरीएको केन्द्रिय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँबरले बताउनुभयो ।
राजधानी बाहिर हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र विहान काठमाडौंको समाखुशीमा ट्याक्सीमा आगजनी भएको उहाँले बताउनुभयो ।
उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको बताउनुभयो ।