प्रचण्ड -नेपाल पक्षको आमहड्तालाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिने
Wednesday, February 3rd, 2021, 5:16 pm
काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहले बिहीबार गर्ने आमहड्ताललाई लक्षित गर्दै उपत्यकामा आवश्यक सुरक्षा योजना बनाएको छ ।जिल्ला प्रहरी कार्यालय काठमाडौं र उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरहरूले आकस्मिक सुरक्षा योजना बनाएका हुन्। आमहड्ताललाई मध्येनजर गर्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिने भएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जानकारी दिनु भएको छ ।
आमहड्तालका क्रममा जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड गर्ने क्रियाकलाप गरिए नियन्त्रणमा लिएर प्रहरीले कारबाही गर्ने भएको छ । प्रहरीका अनुसार उपत्यकामा रानीपोखरीले र अन्य ठाउँमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएका छन्
आमहड्तालका क्रममा अवाञ्छित गतिविधिहरु हुने संभावनालाई ख्याल गर्दै साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार साबिकको भन्दा पैदल, मोबाइल र पिकेट गस्ती बढाइने भएको छ ।