नेप्सेमा सामान्य करेक्सन, करिब साढे नौ अर्बको कारोबार
Wednesday, February 3rd, 2021, 4:10 pm
काठमाडौं । साताको चौथो कारोबार दिन सेयरबजार परिसूचक नेप्सेमा सामान्य करेक्सन भएको छ । सुरुवाती समयबाटै तीव्र उतार–चढाव देखिएको बजारमा करेक्सन देखिए पनि करिब साढे नौ अर्बको कारोबार भएको छ । अर्कोतर्फ ने प्रचन्ड–नेपाल समूहले बिहीबारको लागि आम हड्ताल आह्वान गरेको समाचार आएसँगै साढे एकपछि नेप्सेमा तीव्र रूपमा उतार–चढाव आएको थियो ।
सुरुवाती समयमा उच्च समयमा ह्वात्तै माथि गए पनि सोमबार र मंगलबार दुई दिन लगातर उच्च अंकले बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा बिक्री चाप हावी हुन पुग्यो, जसले गर्दा नेप्सेमा सामान्य करेक्सन भएको छ ।
नेप्सेमा २०२ कम्पनीको दुई करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ५३ करोड १७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । ९१ हजार ५५९ वटा कारोबारबाट उक्त रकमको कारोबार भएको हो ।
आज नेप्सेमा बैंकिङ, हाइड्रोपावर, लघुवित्त र म्युचुअल फन्ड समूहको सूचक सकारात्मक हुँदा त्यसबाहेक सबै समूहको सूचक घटेको छ । व्यापार समूहको सूचक २।२१ प्रतिशत, वित्त कम्पनी समूहको सूचक १।६८ प्रतिशत, उत्पादन समूहको सूचक १।६५ प्रतिशत, होटेल समूहको सूचक १।४६ प्रतिशत र जीवन बिमा समूहको सूचक १।०७ प्रतिशतले घटेको छ ।
यस्तै, अन्य समूहको सूचक पनि ०।८६ प्रतिशतले ओरालो लाग्दा बैंकिङ सूचक ०।२४ प्रतिशत, हाइड्रोपावरको सूचक १।०४ प्रतिशत र लघुवित्तको सूचक ०।०२ प्रतिशतले बढेको छ ।
नेप्सेमा आज ग्लोबल आईएमई बैंकको ६० करोड ८० लाख ११ हजारको कारोबार हुँदा १५ लाख ६ हजार ६१ कित्ता सेयर किनबेच भयो । यस्तै, प्रभु लाइफ इन्स्योरन्सको सबैभन्दा धेरै ११ हजार २६ वटा कारोबार भएको छ ।
आज नेप्से ६।८१ अंकले करेक्सन भएर २४६६।९२ अंकमा बन्द भएको छ । तर, सेन्सिटिभ इन्डेक्स भने बढेको छ । सेन्सिटिभ इन्डेक्स ०।९२ अंकले बढेर ४५२।२९ अंकमा पुगेको छ ।
बुधबार नेप्सेले इन्ट्रा–डे कारोबारमा २५०० अंकको विन्दु पार गरे पनि मंगलबारको भन्दा करेक्सन भएर क्लोजिङ भएको छ । २४९०।५४ अंकमा ओपनिङ भएको बजार इन्ट्रा–डे कारोबारमा १५२०।३७ अंकको उच्च विन्दु कायम गरेको थियो भने २४५७।३३ अंकसम्म झरेको थियो । नेप्सेले पहिलोपटक २५०० विन्दु पार गरेको हो ।