डर्टमण्ड जर्मन कपको चौंथो चरणमा
Wednesday, February 3rd, 2021, 10:53 am
एजेन्सी । बोरुसिया डर्टमण्ड दोस्रो डिभिजनको पाडेरवर्नलाई अतिरिक्त समयमा पराजित गर्दै जर्मन कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
हिजो राति भएको खेलमा पाडेरवर्नलाई डर्टमण्डले अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै चौथो चरणको यात्रा तय गरेको हो ।
आफ्नै घरेलु मैदानमा डर्टमण्डलाई इम्री च्यानले खेलको सुरुवाती छैटौं मिनेटमै अग्रता दिलाएका थिए । १–० ले अघि रहेको डर्टमण्डले खेलको १६ औं मिनेटमा जाडोन सान्चोको गोलबाट २–० को अग्रता बनायो ।
तर सुरुवाती २ गोल अग्रता जोगाउन नसक्दा डर्टमण्डले जितका लागि अतिरिक्त समय कुर्नुपर्यो । पाडेरवर्नका लागि खेलको ७९ औं मिनेटमा जुलियनले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । यस्तै खेलको थप गरिएको समयमा पाडेरवर्नका प्रिन्स ओसीले गोल गरेपछि खेल २–२ को बराबरी हुँदै अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ९५ औ मिनेटमा डर्टमण्डका अर्लिङ हालाण्ड गोल गर्दा डर्टमण्डले पाडेरवर्नमाथि ३–२ को जित निकाल्दै जर्मन कपको चौथो चरणमा स्थान सुरक्षित गरेको हो ।