महालक्ष्मी बैंक अनियमितता प्रकरणः सुन जाँचकी पनि पक्राउ
Tuesday, December 29th, 2020, 1:16 pm
काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको प्रकरणमा तत्कालीन सुन जाँचकी पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पद्यमचन्द्र ज्ञवाली छन् ।
ज्ञवालीले २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा काम गरेका थिए । उनले जागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह भएको भेटिएको थियो ।
प्रकरणमा बैंकका तीन शाखा प्रबन्धक पिंखु पालिखे, स्मृति राणा र अनिलसिंह सिजापतिसहित थप तीन जना ऋणी पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक सहकुलबहादुर थापाका अनुसार ज्ञवालीलाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
ज्ञवालीले महालक्ष्मी बैंकमा काम गर्नुअघि लामो समय नेपाल राष्ट्र बैंकमा क्यासियरका रुपमा काम गरेका थिए । घटनामा संलग्न सबै जनाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरीले अनुसन्धान गरिरहेको छ ।